• १४ भदौ २०८३ आइतबार/ Sunday 8-30-2026

सरस्वती माविको शिक्षक नियुक्ति रोकेको आरोप, कार्यवाहक प्रमुखको प्रतिवाद

गणतन्त्र खबर, धरान । धरान वडा नं ६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा ८ महिनादेखि रिक्त सामाजिक शिक्षक र लेखापालको पदपूर्ति हुन नसकेको विषय विवादित बनेको छ । वडा अध्यक्ष भूपेन्द्र भट्टराईले शिक्षक नियुक्ति र विद्यालयका अन्य समस्या समाधान गर्न नगरपालिकाले सहयोग नगरेको आरोप लगाएका छन् । कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले भने आरोप अस्वीकार गर्दै समस्या विद्यालय व्यवस्थापन समितिभित्रको विवादका कारण भएको भन्दै सो आरोपको खण्डन गरेका छन् । 

आज वडा कार्यलयमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष भट्टराईले विद्यालयको शिक्षक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित भइरहेको बताए । उनले नगरपालिकामा पटक-पटक पुगेर शिक्षक नियुक्तिका लागि आग्रह गरे पनि समस्या समाधान नभएको दाबी गरे । उनले भने, ‘कहिले घरि मलाई दोष दिएको छ, घरि प्र.अ.लाई दोष दिएको छ, घरि तपाईंको विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दोष दिएको छ ।’

त्यसैगरी विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले पनि शिक्षकको पद लामो समयदेखि रिक्त रहेको पुष्टि गरेका छन् । उनले भने, ‘तत्कालीन प्रधानाध्यापक गंगाप्रसाद धमला २०८२ साल माघ २० गते अनिवार्य अवकाशमा गएपछि सामाजिक विषयको शिक्षक पद खाली भएको हो ।’

शिक्षक नियुक्तिका लागि नगरपालिकामा पटक-पटक अनुरोध गरेको उनको दावी छ । ‘वडा अध्यक्षसहित विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीसमेत समस्या लिएर नगरपालिकामा पुग्यौ तर अहिलेसम्म शिक्षक नियुक्ति हुन सकेको छैन ।’ उनले भने ।

एसईई दिने विद्यार्थीहरु मारमा पर्दै 

आगामी एसर्ईई दिन तयारी हुँदै गरेका कक्षा १० का विद्यार्थीहरु सामाजिक विषय अध्ययनको लागि मारमा पर्दै गएका छन् । सामाजिक विषय पढाउने शिक्षक नहुँदा उपलब्ध शिक्षकले आफ्ना नियमित कक्षासँगै थप कक्षा सम्हाल्नुपरेको प्रधानाध्यापक दाहालले गुनासो पोखे । 

एउटै कक्षामा ४० देखि ४५ जनासम्म विद्यार्थी रहेको अवस्थामा दुईवटा कक्षा मिलाएर पढाउँदा समस्या हुने उनको भनाइ छ । ‘अनि दुइटा क्लास खप्ट्याउँदाको अवस्था के हुन्छ ठूलो विद्यार्थी ? त्यो समस्या नै समस्याबाट हामी अल्झिरहेको अवस्था छ ।’ उनले भने । आगामी एसईई दिने विद्यार्थीको पढाइ प्रभावित हुन सक्ने भन्दै विद्यालयले चिन्ता व्यक्त गरेको छ । 

विद्यालयले शिक्षक नियुक्तिका लागि नयाँ विज्ञापन खोल्न अनुमति मागेको भए पनि त्यसमा पनि स्वीकृति नपाएको प्रधानाध्यापक दाहालले गुनसो गरेका छन् । उनले भने, ‘विज्ञापनको माग गरौं भनेर हामीले कहिलेसम्म खाली राख्ने त भनेर विज्ञापनको माग गर्यौं हामीले । त्यो प्राप्त भएको छैन ।’ 

सरस्वती माविमा शिक्षकसँगै लेखापालको पदसमेत रिक्त छ । विद्यालयका लेखापाल चित्रबहादुर कार्की ६० वर्ष उमेर पुगेर अवकाश भएपछि जेठ १ गतेदेखि पद खाली भएको प्रधानाध्यापक दाहालले बताए । विद्यालय व्यवस्थापन समितिले विज्ञापन खोलेर ६ जनाको आवेदनसमेत प्राप्त गरिसकेको तर परीक्षा र नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।

अध्यक्ष र प्रअका बीच वेमेलका कारण पून: विवाद उत्पन्न: कावा प्रमुख वेघा 

वडा अध्यक्षको आरोपबारे प्रतिक्रिया दिँदै कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले शिक्षक नियुक्ति नगरपालिकाले जानाजानी रोकेको भन्ने कुरा अस्वीकार गरे ।

उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबीच लामो समयदेखि राम्रो समन्वय नभएको दाबी गरे । उनका अनुसार यही विवादका कारण विद्यालय व्यवस्थापन समितिको बैठकसमेत सहज रूपमा बस्न नसकेको अवस्था छ । बेघाले आफूले दुवै पक्षलाई बोलाएर पटक-पटक छलफल गराएको बताए । 

‘‘मैले दुई पक्षलाई बोलाएर वार्ता गराएको । प्रअ र चाहिँ नि व्यवस्थापन समितिको अध्यक्षलाई बोलाएर, सदस्यहरू सबैलाई बोलाएर, वडाध्यक्षलाई बोलाएर यहाँ कुरा गरेको । ‘मिल्छौँ’ भने, फेरि उता गएर झगडा गरेछन् त । त्यो झगडा कसले लायो त अनि ? हँ झगडा मैले लाको ? नगरपालिकाले लाको थोरै झगडा ?’’ उनले प्रति प्रश्न गरे । 

शिक्षा महाशाखालाई समेत समस्या समाधानका लागि परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले मिलेर साझा निर्णय गरी शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्नेमा आन्तरिक विवादको दोष नगरपालिकामाथि लगाइएको छ ।

आफूअनुकूल व्यक्ति नियुक्त गर्न खोजिएको कावा प्रमुखको आशंका

शिक्षक नियुक्तिका विषयमा नगरपालिकाको धारणा भने सार्वजनिक सूचना निकालेर नियमअनुसार प्रक्रिया अघि बढाउनुपर्ने रहेको बेघाले बताए । रिक्त पदमा कसलाई नियुक्त गर्ने भन्ने पहिले नै तय गर्नुभन्दा सार्वजनिक सूचना निकालेर योग्य व्यक्ति छनोट गर्नुपर्ने उनको भनाइ छ ।

उनले अस्थायी रूपमा आफूअनुकूल व्यक्ति नियुक्त गर्न खोजिएको हुनसक्ने आशंका पनि व्यक्त गरे । ‘‘उहाँहरूले चाहिँ नि अस्थायी रुपमा त्यहीँ उहाँहरूकै कोही मान्छेहरू सेट गर्न खोजिराख्नुभएको हो कि जस्तो लागेको छ । अस्थायी दरबन्दी, अस्थायी हुन्छ नि ? त्यो त स्थायी दरबन्दी खाली भएको । स्थायी दरबन्दी चाहिँ अरु कुनै ठाउँदेखि आउन सक्छ सूचना निकालेपछि । त्यो सूचना चाहिँ निकाल्न नचाहने अनि अस्थायी दरबन्दीको चाहिँ नि सूचना निकालेर अब २(४ महिनाको लागि चाहिँ नि कोही मान्छे नियुक्ति गराउनका निम्ति साथीहरू लागि राख्नुभएको हो कि जस्तो लाग्छ ।’’ उनले भने ।

कार्यवाहक प्रमुख बेघाले वडाध्यक्षले पत्रकार सम्मेलन गर्नुको मुख्य कारण विद्यालयको समस्या नभई नदीजन्य पदार्थको विषय हुनसक्ने आशंका व्यक्त गरे । 

‘‘मैले भनेँ यो स्कुलको विषयवस्तु चाहिँ सहायक जस्तो लाग्छ मेरो विचारमा । यो खोलाको मिक्स गिट्टीको विषय चाहिँ उहाँलाई ठूलो लागेर पत्रकार सम्मेलन गर्नुभएको जस्तो लागेको छ । र अर्को कुरा स्कुलको मामिलामा फेरि पनि म दोहोर्याइदिन्छु- त्यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, समिति एकातिर छ र विद्यालयको प्रअ र शिक्षकहरू अर्कातिर छन् । अनि त्यो बिचमा कसले खेल्दैछ थाहा छैन । कहिले मिल्दैन त्यो टिम, कहिले मिलिरा छैन । हामीले राख्दा पनि मिलिरा छैन । त्यो नमिलाउने चाहिँ को हो को नि, अब खोजबिन गर्नुपर्छ।’’ 

गिट्टी-बालुवा बेच्दिनँ, बाटोमा प्रयोग गर्छु : कावा प्रमुख बेघा

वडा अध्यक्ष भट्टराईले सरस्वती माविको विषयसँगै धरान-६ का खोलामा थुप्रिएको नदीजन्य पदार्थको विषय पनि उठाए ।

उनका अनुसार सेरा, सेउती र सर्दु खोलामा ठूलो मात्रामा गिट्टी-बालुवा थुप्रिएको छ । यसले कतिपय ठाउँमा नदीको बहाव परिवर्तन हुनुका साथै खेतीयोग्य जमिन, खानेपानीका मुहान र बस्तीमा समेत असर परेको उनको दाबी छ ।

खोलाको नदीजन्य पदार्थ कानुनअनुसार व्यवस्थापन गरेर बस्ती जोगाउन र निर्माणधिन मदन भण्डारी राजमार्गका आसपासका सहायक बाटो निर्माणका लागि समेत आवश्यक नदिजन्य सामाग्रीको सहजीकरण गर्नुपर्ने बताएका थिए । तर त्यस कुराको प्रतिवाद गर्दै कार्यवाहक नगर प्रमुख बेघाले नदीजन्य पदार्थ ठेक्कामा लगाएर व्यवसायीलाई बिक्री गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

उनका अनुसार खोलाबाट निकालिएको मिक्स गिट्टी धरान-६ का विभिन्न सडकमा प्रयोग भइरहेको छ । खाल्डाखुल्डी पुर्ने, सडक सम्याउने र रोलर प्रयोग गर्ने काम नगरपालिकाले गरिरहेको उनले बताए ।

बेघाले आफूले स्थानीय स्रोत प्रयोग नगरेको भन्ने आरोप पनि अस्वीकार गरे । उनले वडा नम्बर ६ का विभिन्न सडकमा केही दिनअघि नै मिक्स गिट्टी प्रयोग गरिएको र त्यसको प्रमाण आफूसँग रहेको बताए । 

विद्यार्थीलाई विवादमा ल्याएको विषयमा पनि प्रश्न

पत्रकार सम्मेलनमा विद्यार्थीको सहभागितालाई लिएर पनि कार्यवाहक प्रमुखले प्रश्न उठाएका छन् । बेघाले विद्यालयका विद्यार्थीलाई राजनीतिक विवादमा प्रयोग गर्नु उचित नहुने बताए । यदि विद्यार्थीलाई राजनीतिक प्रयोजनका लागि प्रयोग गरिएको पुष्टि भए प्रधानध्यापक माथि कारबाही हुनसक्ने उनको भनाइ छ ।

पत्रकारको प्रश्नमा उनले भने, ‘हो, विद्यार्थी प्रयोग गर्ने चाहिँ नि प्रअलाई कारबाही गरिन्छ ।’ 

वडाध्यक्ष र विद्यालय पक्षले भने विद्यार्थीको पढाइ प्रभावित भएको विषय सार्वजनिक गर्न विद्यार्थी तथा विद्यालय समुदायले आफ्नो समस्या राखेको अर्थमा विषय प्रस्तुत गरेका छन् ।

यसबाट विवाद अब केवल जनप्रतिनिधिबीचको मतभेदमा सीमित नरही विद्यालय प्रशासन र विद्यार्थीको भूमिकासम्म पुगेको देखिन्छ ।

 

प्रतिकृया दिनुहोस

'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको

धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन  धरानमा गर्ने भएको छ ।

बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग

# गणतन्त्र खबर

गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी